नेपाल पंछी संरक्षण संघद्वारा आयोजना गरिएको यो बर्षको चराको फोटो प्रतियोगिता तथा प्रदर्शनी राष्ट्रिय चरा फोटो प्रतियोगिता २०२६ (NATIONAL BIRD PHOTO CONTEST 2026) सफलता र जिम्मेवारीका साथ् हालै सम्पन्न भएको छ । ‘Conservation through Exhibition’ नाराका साथ् शुरु भएको उक्त प्रदर्शनी गत साउन २८ गते (August 13) बाट शुरु भएर भदौ १ गते (August 17) सम्पन्न भएको थियो । नेपाल कला-परिषद् (Nepal Art Council) बबरमहल, काठमाडौँमा उक्त प्रदर्शनी ५ दिनसम्म भएको थियो । सबै सर्बसाधारणको लागि नि:शुल्क प्रवेश गरिएको उक्त प्रदर्शनीमा ५ दिनमा हजारौंले चराको तस्वीर अवलोकन गरेका थिए ।

An 1 Friends of Bird

संघले विगतमा पनि यस प्रकारका चराको तस्वीर प्रदर्शनी तथा प्रतियोगिता पटक पटक गरिसकेका छन् । यसअघि सन् २०१२ र २०१६ मा पनि भएको थियो । यस प्रकारको प्रदर्शनी तथा प्रतियोगितालाई राष्ट्रिय चरा फोटो प्रतियोगिता (NATIONAL BIRD PHOTO CONTEST) को नामांकरण भने सन् २०१६ बाट शुरु गरिएको थियो । चरा संरक्षणमा जेठो संस्था भएकोले यस्तो प्रदर्शनी तथा प्रतियोगितामा देशभरिका चराको फोटोग्राफरहरूलाई सहभागिताको उत्प्रेरणा जगाई अझ ठूलो राष्ट्रव्यापि बनाउन नेपाल पंछी संरक्षण संघले सन् २०१६ देखि राष्ट्रिय चरा फोटो प्रतियोगिता (NATIONAL BIRD PHOTO CONTEST) को नामबाट शुरु गरिएको थियो ।

प्रदर्शनी अघि प्रतियोगिताको लागि देशभरिबाट आएका फोटोहरूबाट छनौट गरी प्रदर्शनी हुनु एकहप्ता अघि ३ सदस्यको निर्णायक मण्डललाई विजेताहरू छनौट गर्न जिम्मा दिईएको थियो । ३ विभिन्न क्षेत्रबाट चुनिएका विशिष्ट निर्णायकहरू WWF Nepal (World Wide Fund for Nature) का Partnerships Development प्रमुख तथा Nepal Zoological Society का उपाध्याक्ष राजेन्द्र सुवालज्यु, नेपालको बन्यजन्तु तथा पर्यटन व्यवशायसँग आवद्द तत्कालिन Tiger Tops तथा Tiger Mountain समुहका पूर्व सहायक बिक्री प्रवर्द्धक तथा बन्यजन्तु फोटोग्राफर सानु राजा बज्राचार्यज्यु र Nepal Water Color Society का पूर्व अध्यक्ष तथा कला प्राध्यापक रतन कुमार राईज्यु थिए । निर्णायक सदस्यहरूले आयोजक संघले प्रतियोगिताको लागि राखिएको मापदण्डको आधारमा पहिलो, दोस्रो, तेस्रो तथा ‘दुर्लभ रेकर्ड’ विधा अन्तर्गत चार विजेताहरू छनौट गरेका थिए ।

An 2 Friends of Birdविमल कुमार थापा (अध्यक्ष), नेपाल पंछी संरक्षण संघ, आफ्नो मन्तव्य राख्नुहुँदै ।

An 3 Friends of Birdराजेन्द्र सुवाल (उपाध्याक्ष) Nepal Zoological Society विजेताहरूको नाम सार्वजनिक गर्नुहुँदै ।

An 4 Friends of Birdसानु राजा बज्राचार्य (बायाँ), विमल कुमार थापा (बीचमा), राजेन्द्र सुवाल (दाँया) रिबन काटेर प्रदर्शनी कक्ष उद्घाटन गर्नुहुँदै ।

साउन २८, प्रदर्शनी उद्घाटनको दिन बिहान औपचारिक कार्यक्रम गरिएको थियो र सोहि क्रममा चार विजेताहरूको नाम पनि सार्वजनिक गरिएको थियो । नेपाल पंछी संरक्षण संघका वर्तमान अध्यक्ष विमल कुमार थापाज्यूले यस प्रकारका चराको तस्वीर प्रदर्शनी तथा प्रतियोगिताको महत्व र आवश्यकताको बारेमा छोटो मन्तव्य राख्दै प्रतियोगितामा सहभागी सबैलाई धन्यवाद दिनुभएको थियो । त्यस लगतै राजेन्द्र सुवालज्युले पहिलो, दोस्रो, तेस्रो तथा ‘दुर्लभ रेकर्ड’ विधाका विजेताहरूको नाम घोषणा गर्नुभएको थियो । औपचारिक कार्यक्रम समापन पश्चात आयोजक संघका अध्यक्ष थापाज्यूले फोटो प्रदर्शनी कक्षको प्रवेशद्वारमा राखिएको रिबन काटी प्रदर्शनी उद्घाटन गर्नुभएको थियो र सबै आगन्तुकहरूका लागि नि:शुल्क प्रवेश शुरु भएको थियो ।

An 5 Friends of Birdचार विजेताहरूको फोटोहरू, बाँयाबाट क्रमसः पहिलो, दोस्रो, तेस्रो तथा ‘दुर्लभ रेकर्ड’ विधा

An 6 Friends of Birdप्रदर्शनी कक्ष, नेपाल कला-परिषद् (Nepal Art Council) बबरमहल, काठमाडौँमा

प्रदर्शनी कक्षमा शुरुमा पहिलो, दोस्रो, तेस्रो तथा ‘दुर्लभ रेकर्ड’ विधाका विजेताहरूको चारवटा फोटो क्रमश राखिएको थियो भने त्यसपछि प्रदर्शनीका लागि छनौटमा परेका बाँकी ४७ वटा फोटोहरू सेतो भित्तामा क्रमश सजाईएका थिए । प्रतियोगिता तथा प्रदर्शनीको लागि देशका विभिन्न जिल्लाबाट ५१ जना फोटोग्राफरहरूबाट आएका र अन्तिम छनौटमा परेका ५१ वटा फोटोहरू क्रमश: प्रदर्शनी कक्षमा थिए भने आयोजक संघकै सदस्य र कर्मचारी तथा अन्यबाट प्राप्त भएका तर मुख्य प्रतिस्पर्धामा नपरेका ८ वटा फोटोहरू पनि प्रदर्शनीमा थिए । जम्मा ५९ वटा फोटोहरू प्रदर्शनीको आकर्षणमा थिए ।

नेपाल पंछी संरक्षण संघ एकल र मुख्य आयोजक भएको उक्त प्रतियोगिता तथा प्रदर्शनीका लागि अन्य विभिन्न ६ वटा व्यावसायिक प्रायोजकहरू थिए । RSPB (Royal Society for the Protection of Birds) UK, Tiger Tops Nepal, Lions Manaram Foundation 2005 Nepal, Travel-to-Nature Asia, Map House र Adtech Media House ले आयोजक संघलाई विविध विषयमा आर्थिक र अन्य सहयोग गरेका थिए ।

An 7 Friends of Bird

५ दिनसम्म सार्वजनिक नि:शुल्क प्रवेश भएको उक्त प्रदर्शनीको समापन भदौ १ गते भएको थियो । उक्त दिन दिउँसो Policy Research Institute Nepal का कार्यकारी अध्यक्ष तथा आयोजक संघका सल्लाहकार डा. गणेश गुरुङज्यूको प्रमुख आतिथ्यमा विजेताहरूलाई पुरष्कार वितरण तथा समापन कार्यक्रम भएको थियो । कार्यक्रमको शुरुमा संघका अध्यक्ष विमल कुमार थापाज्यू र निर्णायक समूहका एक सदस्य तथा वरिष्ठ फोटोग्राफर सानु राजा बज्राचार्यज्यूले फोटोग्राफीको बारेमा आ-आफ्नो बिचार राख्नुभएको थियो ।

An 8 Friends of Birdविमल कुमार थापा (अध्यक्ष), नेपाल पंछी संरक्षण संघ, समापनको दिन आफ्नो मन्तव्य राख्नुहुँदै ।

An 9 Friends of Birdसानु राजा बज्राचार्य, बन्यजन्तु फोटोग्राफर (Tiger Tops), समापनको दिन आफ्नो मन्तव्य राख्नुहुँदै । 

An 10 Friends of Birdप्रथम पुरस्कार विजेता फोटो (सुन गिद्ध, Red-headed Vulture)
फोटो – ईश्वर गुरुङ

An 11 Friends of Birdदोस्रो पुरस्कार विजेता फोटो (जलेवा, Great Cormorant)
फोटो – अम्बिस काजी शाक्य

An 12 Friends of Birdतेस्रो पुरस्कार विजेता फोटो (चुईयाँ चैतेचरा, Savanna Nightjar)
फोटो – प्रताप गुरुङ

An 13 Friends of Bird‘दुर्लभ रेकर्ड’ विधा पुरस्कार विजेता फोटो (मलगुझा, Black-tailed Godwit)
फोटो – चुडामणि चौधरी

An 14 Friends of Bird‘Viewer’s Choice Award विधा पुरस्कार विजेता फोटो (सानो माटीकोरे, Common Kingfisher)
फोटो – सुदिप के.सी.

पुरस्कार विजेता सबै ५ फोटोहरूको स्रोत नेपाल पंछी संरक्षण संघ

यस प्रतियोगितामा पोखरा, कास्कीका ईश्वर गुरुङले खिचेको सुन गिद्ध (Red-headed Vulture) को फोटोले प्रथम पुरस्कार (रु.३५,०००/-) जित्न सफल भएको थियो भने ओमबहाल -२३, काठमाडौंका अम्बिस काजी शाक्यले खिचेको जलेवा (Great Cormorant) को फोटोले दोस्रो पुरस्कार (रु.२५,०००/-) जित्न सफल भएको थियो र नीलकण्ठ- ११, धादिङका प्रताप गुरुङले खिचेको चुईयाँ चैतेचरा (Savanna Nightjar) को फोटोले तेस्रो पुरस्कार (रु.१५,०००/-) जित्न सफल भएको थियो । यसैगरी सौराहा, चितवनका चुडामणि चौधरीले खिचेको मलगुझा (Black-tailed Godwit) को फोटोले ‘दुर्लभ रेकर्ड’ विधाको पुरस्कार (रु.१०,०००/-) जित्न सफल भएको थियो भने प्रदर्शनी अवधिभर अवलोकनकर्ताहरूले आफुलाई मनपर्ने फोटोको लागि गरेको भोटको आधारमा अधिकतम भोट प्राप्त गर्न सफल, बसुन्धरा, काठमाडौंका अवकास प्राप्त महासेनानी सुदिप के.सी. ले खिचेको सानो माटीकोरे (Common Kingfisher) को फोटोले Viewer’s Choice Award (Tiger Tops मा २ रात ३ दिनको नि:शुल्क भ्रमण तथा बसाई प्याकेज) जित्न सफल भएको थियो ।

An 15 Friends of Birdप्रमुख अतिथि डा. गणेश गुरुङ Policy Research Institute Nepal का कार्यकारी अध्यक्ष, समापनको दिन आफ्नो मन्तव्य राख्नुहुँदै ।

An 16 Friends of Birdईशाना थापा (प्रमुख कार्यकारी अधिकृत), नेपाल पंछी संरक्षण संघ, समापनको दिन आफ्नो मन्तव्य राख्नुहुँदै ।

उक्त कार्यक्रममा सो दिनको प्रमुख अतिथि डा. गणेश गुरुङज्यूले सबै विजेताहरूलाई पुरस्कार हस्तान्तरण गर्नुभएको थियो भने फोटो र फोटोग्राफीको महत्वको बारेमा छोटो मन्तव्य पनि राख्नुभएको थियो । कार्यक्रममा उपस्थित हुन् नसकेका विजेताहरूको लागि उहाँहरूका प्रतिनिधिहरूलाई पुरस्कार हस्तान्तरण गरिएको थियो । समापन कार्यक्रमको अन्तमा आयोजक संघकी प्रमुख कार्यकारी अधिकृत ईशाना थापाज्यूले पंछी संरक्ष्ण र चराको फोटो प्रतियोगिता तथा प्रदर्शनीको बारेमा संघले निभाएको भूमिका र जिम्मेवारीको बारेमा मन्तव्य राख्नुभएको थियो भने अध्यक्ष विमल थापाज्यूले यस्तो कार्यक्रम भविष्यमा पनि आयोजना हुने कुरा राख्नुहुँदै कार्यक्रममा प्रत्यक्ष-अप्रत्यक्ष सहयोग गरेका सबै पक्ष र सरोकारवाला सबैलाई धन्यवाद दिएर कार्यक्रमको समापन गर्नुभएको थियो ।


यस प्रतियोगितामा पुरस्कार जित्न सफल भएका ५ वटै फोटोहरू आयोजक नेपाल पंछी संरक्षण संघबाट स्वीकृति प्राप्त गरी यस लेखमा प्रयोग गरिएका हुन् । आयोजक संघबाट स्वीकृति नलिई ती फोटोहरू कसैले पनि कहिँ प्रयोग नगर्नुहुन अनुरोध गरिन्छ ।

आयोजक नेपाल पंछी संरक्षण संघको बारेमा थप कुरा बुझ्नुपरेमा हरियो रङ्गको संघको नाममा क्लिक गर्नुहोला ।